अमेरिका जाने सपना भारतको यौन बजारमा - चेली बेच्ने धन्दाः अब कोठीमा हैन, कोठामा !

Published On: Thursday, March 2, 2017 | Source: NRNA SPAIN

नयाँ दिल्ली । करिब ६ महिनाअघि दलाललाई १६ लाख रुपैयाँ बुझाएर क्यानडा जान हिँडेकी सिन्धुपाल्चोक गुम्बाकी निङमा शेर्पा (नाम परिवर्तन) अहिले नयाँ दिल्लीको पहाडगञ्जमा एउटा बियर बारमा काम गर्छिन् ।

क्यानडा लैजाने दलालले बैंकक, लाओस, क्याम्बोडिया, भियतनाम हुँदै तीन महिना अघि दिल्लीमा ल्याएर छाडेपछि उनको क्यानडा सपना बियर बारमा पुगेर रित्तियो ।

कपाली तमसुक गरेर ऋण लिएको १६ लाख रुपैयाँ तिर्ने हैसियत नभई नेपाल फर्किने अवस्था नभएपछि उनी दलालले राखेको ‘अस्थायी अखडा’ छाडेर वियर बारमा काम गर्न थालेकी हुन् । उनीसँगै अमेरिकाका लागि दलाललाई २२ लाख बुझाएकी रसुवाकी सरला तामाङ (नाम परिवर्तन) पनि गत साता दिल्लीकै करोलबागको एउटा बियर बारमा भेटिइन् ।

उनीहरुसँगै क्यानाडा र अमेरिका जाने भनेर दिल्लीमा अलपत्र परेका २३ मध्ये ४ जना युवतीले काठमाडौं फर्केर प्रहरीमा जाहेरी दिइसकेका छन् । 

मानव तस्करी गिरोहका केही व्यक्तिको पहिचान भइसकेको र चाँडै मानव बेचबिखनमा संलग्न ठूलो गिरोह पक्राउ गर्न लागिएको उपत्यका प्रहरी अपराध महाशाखा स्रोतले जनाएको छ । सो गिरोहका केही व्यक्तिको नाम र प्रमाणसहित तीनजना पीडित युवतीले जाहेरी दिएका छन् ।

 

जब अमेरिकाको सपनाः यौन बजारमा पोखिन्छन्

अमेरिका, क्याडाना, युरोप, अष्ट्रेलियाजस्ता देशमा पठाउने भन्दै दलालहरुले लाखौं रुपैया असुलेर अलपत्र पारेका वा पर्खन भन्दै एउटा कोठामा थुनेर राखेकाहरु दिल्लीमा धेरै भेटिन्छन् ।

मानव तस्करीको अन्तर्राष्ट्रिय गिरोहबाट फसेका महिलाहरु दिनहुँ बाह्रखम्बा रोडस्थित नेपाली दूतावासमा पुगिरहेका हुन्छन् । ती मध्येकै कतिपयचाहिँ दलालमार्फत नै भारतका यौन बजारमा पुग्छन् । आधिकारिक तथ्याङ्क नभए पनि दिल्ली, मुम्बई, गोवा, पुणे र बैंगलोरका बियर बार तथा क्यासिनोहरुमा सयौं होइन, हजारौंको संख्यामा नेपाली चेलीहरु पुगेका छन् । उनीहरुमध्ये अधिकांश तेस्रो देशमा रोजगारीको प्रलोभनमा फसेर वा काठमाडौंका डान्स बार तथा क्याबिन रेष्टुरेन्टहरुबाट दलालमार्फत त्यहाँ पुगेका हुन् ।

दलालहरुले तेस्रो मुलुक पुर्‍याउने प्रलोभनमा लाखौं रुपैयाँ असुल्ने र दिल्लीमा अलपत्र पार्ने गरेका घटना नेपाली दूतावासमा दिनहुँ आउँछन् । दलालहरु एउटा कोठामा उनीहरुलाई राखेर फरार भएपछि गुहार माग्दै दूतावास आउने गरेको दूतावासकी द्वीतीय सचिव अस्मिता न्यौपाने बताउँछिन् ।

कोठीबाट कोठामा बेचिन थाले

नेपाल फर्किने अवस्था नरहेकाहरु दलाल मार्फत नै त्यहाँका बारमा काम गर्न पुग्छन् । कतिपयलाई फ्ल्याट भाडामा लिएर बिभिन्न तारे होटलमा सप्लाई गर्ने गरेको समेत पाइएको छ । दिल्लीस्थित हेल्प नेपाली मिसनका कवि कार्कीका अनुसार अचेल दिल्लीमा कोठीभन्दा पनि कोठा (फ्ल्याट) मा युवतीहरु बेचिने गरेका छन् ।

बेचबिखनमा परेकाहरुको उद्दार स्वदेश फिर्तीको सन्दर्भमा सरोकारवालाहरुको राय लिन दिल्ली पुगेकी शक्ति समूहकी कार्यकारी निर्देशक सुनिता दनुवारले भारतमा नेपाली महिला र बालवालिकाको बेचबिखन डरलाग्दो ढंगले बढेको बताइन् । उनले भनिन्-बेचबिखनको शैली फेरिएको छ, विगतमा जस्तो कोठी र सर्कसमा होइन, फ्लाट लिएर होटलमा सप्लाई गर्ने र छाला ट्रान्सप्लान्ट गर्ने प्रयोजनमा समेत बेचबिखन हुने गरेको पाइएको छ ।

देशव्यापार र अंग प्रत्यारोपणको बजार

प्लान इन्टरनेशनल भारतका सत्यजित घोषका अनुसार मानव बेचबिखनको बजार भारतमा व्यापक विस्तार भएको छ । तर, शैली परिवर्तन भएको हो । उनले भने- विगतमा कोठीमा बेचिन्थे । अहिले ठेकेदारमार्फत सप्लाई गर्ने र मानव अंग प्रत्यारोपणका लागि बेचबिखन भइरहेको छ । भारत विश्व यौन बजारकै ठूलो केन्द्र बन्दैछ, त्यसैले बेचबिखनको समस्या अझ बढ्ने देख्छु ।

नेेपालकै कुरा गर्नुपर्दा, काठमाडौंका ठमेल महिला बेचबिखनको मुख्य स्रोत बन्न थालेको मानव बेचबिखन विरुद्ध क्रियाशील संस्था शक्ति समूहको एक अध्ययनले देखाएको छ । ठमेलका डान्स बार र पार्लरहरुबाट दिनहुँ युवती हराउँछन् र तिनीहरु दलालमार्फत भारतको यौन तथा मनोरञ्जन बजारमा पुग्छन् । त्यस्तै पोखराका बार तथा दोहोरी र मसाज पार्लरहरुमा पनि दलालहरुको बाक्लो आवत जावत हुन थालेको छ ।

विगतमा नुवाकोट, सिन्धुपाल्चोक, मकवानपुरजस्ता ठाउँबाट चेलीहरुलाई झुक्याएर वा प्रलोभनमा पारेर भारतका कोठीसम्म पुर्‍याउने गरिन्थ्यो । तर, अब त्यो शैली लगभग पूरै फेरिइसकेको छ । ठमेलका डान्सबारबाट सिधै दिल्लीका डान्स तथा बियर बारहरुमा सप्लाइ हुने गरेको दनुवारले बताइन् । त्यस्तै ठूलो संख्यामा नेपाली युवतीहरु गोवाका क्यासिनोमा भेटिने गरेका छन् ।

नेपाली भाषा बोल्ने जति सबै नेपाली ?

भारतका बार, कोठी र अन्य यौनजन्य स्थलहरुमा धेरै नेपाली युवती रहेको प्रचार हुनुमा नेपाली भाषी भारतीयले आफूलाई नेपाली भन्नु पनि एक कारण रहेको उनले बताए । घोषले भने- नेपाली भनेपछि प्रहरीमा एआइआर दर्ता हुँदैन र मुद्दा मामिला नपरी दूतावास वा सामाजिक संस्थालाई जिम्मा लगाइन्छ । त्यही भएर नेपाली भाषा बोल्ने भारतीय महिलाले पनि आफूलाई नेपाली भन्ने गर्छन् ।

नेपाली दूतावास दिल्लीमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक यादवराज खनालले पनि भारतीय प्रहरीले उद्दारपछि नेपाली भनेर जिम्मा लगाएकाहरुको स्वदेश फिर्तिका लागि पहल गर्ने बेलामात्र उनीहरु नेपाली नभएको थाहा हुने गरेको बताए । नेपाली भाषा बोल्ने सबै नेपाली नै सोच्ने कुराले पनि बेचबिखनमा पर्ने र बार तथा कोठीहरुबाट उद्दार हुने सबै नेपाली हुन् भन्ने परेको उनले सुनाए ।

खनालले भने-नेपाली हौं भनेपछि प्रहरीले जाहेरी दर्ता नगर्ने भएकाले जोगिनकै लागि धेरैले झूटो बयान दिएर दूतावासको जिम्मा पठाउछन् । यता हामीले नेपाली भएको परिचयपत्र माग्दा उनीहरुसँग हुदैन । गाउँ ठेगाना र अभिभावकको नाम पनि दिन सक्दैनन् । कतिपयलाई हामीले नेपाल फिर्ता पठाउने क्रममा बोर्डरबाट फर्काइएको छ । दार्जीलिङ, सिक्किम, आसाम, कुमाउ, गढवाल, देहरादून लगायतका ठाउँबाट धेरै युवती दिल्ली, मुम्बई जस्ता शहरका बार तथा अन्य यौन बजारमा पुग्ने गरेका छन् । ‘मंगोलियन अनुहार देख्ने बित्तिकै यिनीहरु नेपाली हुन् भन्ने बुझिन्छ तर, अनुसन्धान गर्दै जाँदा उनीहरु भारतीय नै हुन्छन् तर यहाँका मिडियाले फलानो कोठीबाट नेपाली युवतीको उद्दार भनेर समाचार दिइ सकेका हुन्छन् ।’ प्रवासी नेपाली मित्र मञ्चकी आशा क्षेत्रीले भनिन् ।

शिक्षित र आधुनिक युवती नै बेचिन्छन्

प्लान इन्टरनेशनलका अनुसार भारतको यौन बजारमा हजारौं महिलाहरु दक्षिण एशियालगायत अन्य मुलुकबाट पनि पुर्‍याइने गरेका छन् । त्यसमा नेपालको हिस्सा उल्लेख्य छ । खुला सीमाना र तेस्रो मुलुक जाने हवाइ गन्तव्यसमेत रहेकाले नेपाली महिलाहरु झुक्याइएर बेचबिखनमा पर्ने गरेका छन् । भारतमा बेचबिखन पर्ने नेपाली महिलाको संख्या नघट्नुको मुख्य कारण यहाँको यौन तथा मनोरञ्जन बजारको विविधकरण नै हो । यसको असर नेपालका शिक्षित र आधुनिक युवतीहरुसम्म पुगेको छ । यसबीचमा सयौं नेपालीको उद्दार गरिसकेका ‘रेस्क्यु फाउन्डेसशन’का सन्तोष सेढार्इं भन्छन्- परम्परागत घीनलाग्दा कोठी होइनन्, अत्याधुनिक अपार्टमेन्टमा राखेर ठूला होटल तथा अखडाहरुमा युवती सप्लाई हुन्छन् ।

 

‘पढेलेखेका र आधुनिक युवतीहरु अहिले दिल्ली, मुम्बई र गोवाका डान्सबारमा भेटिन्छन्, उनीहरुमध्ये कतिपय स्वेच्छाले नै यो काममा लागेको बताउँछन् । जसले गर्दा स्वेदश फिर्ता पठाएपछि पनि उनीहरु फर्किएर यही काममा आउने गरेको पाइएको छ’ कार्कीले भने ‘मैले एउटै युवतीलाई तीन पटकसम्म उद्दार गरेको छु’ । झुक्याएर वा दबाबमा बेचबिखनमा पारिएका बाहेक अरुको हकमा उद्दार तथा स्वदेश फिर्ति स्वेच्छिक बनाउनुपर्ने विज्ञहरुले बताए । र, सबैभन्दा निराशजनक कुराचाहिँ के भने मानव बेचबिखनको शैली फेरिइरहने भएकाले यसको न्यूनीकरण पनि असम्भव बन्दै गएको बेचबिखन बिरुद्धका अभियन्ताहरुले दिल्लीमा आयोजित एक कार्यक्रममा सामुहिक स्वीकार गरेका छन् ।